बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ (भिडियाेसहित)

बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सोमबार जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको डीएसपी थापाले बताए।

पक्राउ पर्नेहरूमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बाराको कलैया उपमहानगरपालिका–१ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका बाराको पचरौता नगरपालिका–२ का एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकिएका बाराको निजगढ नगरपालिका–१ का बासु चौधरीलगायत छन्।

पक्राउ परेकामध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन्।

फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभूति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा सञ्चालन गरेको र यस्तो कारबाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइने डीएसपी थापाले बताए।

हेर्नुस् भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर