अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ। अफ्रिकी देशहरूमा कृषिको विकास तथा यससम्बन्धी आयोजनाहरूको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिएको उनले जानकारी दिए।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन्। सो रकम ती देशहरूलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग रहेको र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरू सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिने उनले बताए।

सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अफ्रिकी देशहरू अहिले पनि आफ्ना उत्पादनहरूको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्य हो।’

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरूलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए।

डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ। सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्नेबारेमा छलफल हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर