काठमाडौं महानगरले ३ महिनामा हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ। नियमविपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो। महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटाएको छ।

विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारी जानकारी दिए। उनका अनुसार गएको असोज ७ मा मापदण्डबमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोहीअनुरूप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो।

महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्गफुटसम्मको वार्षिक पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। त्यसैगरी १५ वर्गफुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रतिवर्गफुट एक हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ।

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ। विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय करअन्तर्गत पर्दछ।

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड रुपैयाँ लक्ष्य लिएकोमा पुस सम्म ३१ करोड ४२ लाख रुपैयाँ असुलउपर गरेको डा. अधिकारीको भनाइ छ।

लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रूपमा उठिरहेको विभागको भनाइ छ। महानगरले पछिल्लो समय पटकपटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असुल हुन थालेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर