निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संसद्मा पेस गर्ने तयारीमा छौं : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेस गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानून लिएर संसद्मा जाने तयारी गरिएको बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे।

२०७४ सालको निर्वाचनपछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँहि ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभारको रूपमा रहेको बताए। त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरूको योजना रहेको उनको भनाइ छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दाबी गर्दै विभिन्न संस्थाहरूले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएकोे आधारमा सुधारका अन्य कार्ययोजनाहरू पनि तय हुँदै जाने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर