अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरीशंकर नगरपालिका–५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देवबहादुर श्रेष्ठ र दोलखा घर भइ हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपांग्रे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहारसम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर