गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीले ढिलाइ गर्न हुँदैन : ठाकुर गैरे

सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन्।

सत्तारूढ दलहरूसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ति गर्नुपर्ने उनको भनाइ छ। बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारूढ दलहरूबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताए।

उनले भने।‘भएको गृहमन्त्री बिदा हुनुभएको छ। अब नयाँ गृहमन्त्री नियुक्ति प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ। हिजो सहमति हुँदाखेरि त्यो गृह मन्त्रालय जति पटक मन्त्रिमण्डल परिवर्तन भए पनि त्यो सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमति भएको हो वा होइन भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन। तर पनि यो सरकार सञ्चालनमा संलग्न भएका दलहरूबीचमा, नेताहरूको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर