अयोध्या लगिएको कालीगण्डकीको शिला हस्तान्तरण गरिँदै (तस्बिर र भिडियाेसहित)

नेपालको कालीगण्डकी नदीबाट उत्खनन् गरिएको शिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्‍याइएको छ। अयोध्यामा निर्माणाधीन मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला त्यहाँ लगिएको हो। शिला आज एक समारोहबीच भारतलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। अहिले शिलाकाे विशेष पूजाअर्चना भइरहेकाे छ।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला लिएर नेपाली कांग्रेसका सांसद तथा नेता विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितको टोली माघ १६ गते अयोध्याका लागि प्रस्थान गरेकामा दुई दिनपछि शिला त्यहाँ पुगेको हो।

त्यहाँ पुगेका नेपाली पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता निधिले जनकपुरवासी, म्याग्दीवासी, गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका जनता, नेपाल सरकारसहित सिंगो नेपालको सहयोगमा सकुशल कालीगण्डकीबाट दुईवटा शिला अध्योध्या पुर्‍याएको बताए। धर्मप्रतिको आस्थाका कारण गन्तव्यस्थल पुर्‍याउनुअघिसम्म श्रद्धालुहरूले बाटोमा विशेष स्वागत र पूजा गरेकाले शिला पुर्‍याउन केही ढिला भएको बताए।

नेपाली कांग्रेसका सांसद तथा नेता विमलेन्द्र निधि

जनकपुरस्थित जानकी मन्दिरमा विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट जन्ती आउने चलन छ। लामो समयदेखि कायम यो परम्पराबीच भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न त्यहाँको सर्वोच्च अदालतले बाटो खुला गरिदिएको अवस्थामा कांग्रेस नेता निधिले नेपालले मूर्ति निर्माणका लागि शिला उपहार दिने वाचा गरेका थिए। उनले आफ्नो वाचा पूरा भएकोमा गौरवान्तित महसुस भएको बताए।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला लगेर त्यहाँ पुगेको टोलीलाई स्वागत गरेका थिए। उनले नेपालमा पनि भारतमा जस्तै हिन्दू समाजका विभिन्न संगठनहरू सञ्चालनमा रहेको बताए।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राय

विशेष अनुष्ठान पूजापछि बिहीबार देवशिला नेपालले भारतलाई हस्तान्तरण गर्न लागेको हो। आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिक रूपमा शिला बुझ्नेछ।

यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि शिला अयोध्यातर्फ लगिएको थियो।

हेर्नुहाेस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर