सरकार छाड्ने रास्वपाको संकेत, बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने संकेत गरेको छ। यस विषयमा छलफल गर्न रास्वपाले अपराह्न साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने अपेक्षा गरिएको छ।

‘अहिलेको जसरी राजनीति बढिरहेको छ। त्यो हामीले चाहेजसरी भइरहेको छैन। आजको बैठकबाट सरकारबाट बाहिरिने निर्णय हुन्छ होला,’ रास्वपाका एक पदाधिकारीले भने।

आजै रास्वपाका सभापति रवि लामिछानेले पनि सरकारबाट बाहिरिने संकेत गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अब मौन नबस्ने बताएका छन्। लामिछानेले आफू अभिमन्यु नभएको पनि बताएका छन्।

उनले लखेका छन, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो।

सोहीअनुसार सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए। उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उनको पद गुमेको थियो।

आफूलाई फेरि गृहमन्त्री बनाउन लामिछानेले पहल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय आफैंसँग राख्ने बताएपछि रास्वपा प्रधानमन्त्री प्रचण्डसँग रुष्ट बनेको छ।

सांसद नरहेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन लागेको भन्दै सार्वजनिक रूपमा आलोचना पनि भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *