राष्ट्रिय सभाबाट तीन विधेयक पारित

राष्ट्रिय सभाको आजको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए। उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारका तर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए।

सांसद देवकोटाले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्यांकन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताए।

यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *