अडानीले २० हजार करोडको एफपीओ लिए फिर्ता

निरन्तर आर्थिक ओरालो लागेको भारतको अडानी समूहले आफ्नो प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको २० हजार करोड रुपैयाँको फलो–अन पब्लिक अफरिङ (एफपीओ) फिर्ता लिएको छ ।

समूहका अध्यक्ष गौतम अडानीले एक भिडियो जारी गर्दै लगानीकर्ताको लगानी सुरक्षाका लागि एफपीओ फिर्ता लिएको जनाएका छन् ।

‘सेयर बजारको उतारचढावलाई मध्यनजर गर्दै लगानीकर्ताको हित संरक्षण गर्नु कम्पनीको उद्देश्य हो । त्यसकारण हामी एफपीओबाट प्राप्त रकम फिर्ता गरी यससँग सम्बन्धित कारोबार अन्त्य गर्न लागेका छौं,’ अडानीले भनेका छन्, ‘मेरो लागि लगानीकर्ताको चासो सर्वोपरी हो ।’
लगानीकर्ताहरूलाई सम्भावित नोक्सानबाट जोगाउन एफपीओ फिर्ता लिएको र यस निर्णयले कम्पनीका वर्तमान कार्यहरू र भावी योजनाहरूमा कुनै प्रभाव नपार्ने उनको भनाइ छ ।

२० हजार करोडको यो एफपीओ जनवरी २७ मा सदस्यताको लागि खोलिएको थियो र पूर्ण रूपमा सदस्यता लिएपछि जनवरी ३१ मा बन्द गरिएको थियो ।

‘सदस्यता लिएर बन्द भएको एफपीओ मंगलबार यसलाई फिर्ता लिने निर्णयले धेरै जनालाई आश्चर्यचकित परेको हुनुपर्छ । तर हिजोको बजारको उतारचढावलाई हेर्दा बोर्डले एफपीओ अगाडि बढाउनु नैतिकताको दृष्टिले सही नहुने महसुस गरेको छौं,’ उनले भिडियोमा भनेका छन् ।

न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरे लगत्तै बुधबारदेखि नै अडानी ग्रूपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरिसकेको थियो । विश्वको धनाढ्यको तेस्रो नम्बरमा रहेका अडानीको सम्पत्तिमा त्यसपछि ठूलो गिरावट आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर