सत्तारूढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको छ : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ गठबन्धनभित्र ठूलो घटनाहरू हुने खतरा देखिएको बताएका छन्।

सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारूढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताएका हुन्।

उनले सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए। उनले सत्तारूढ दलका नेताहरू अत्ताल्लिएको भन्दै त्यसले सत्तारूढ गठबन्धनभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिएको बताए।

सत्तारूढ दलहरूमध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकाले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे।

प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पारे। आफूहरूले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति कांग्रेसकै लागि होला भन्ने आफूहरूको बुझाइ रहेको बताए।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो। सो भेटलगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले तीन नेताहरूका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताए।

समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भए पनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर