सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौं। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताएका छन्। उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर