मन्त्रिपरिषद् बैठक : रक्षामन्त्री उप्रेतीले १ फागुनदेखि भारत भ्रमण गर्ने, यस्ता छन् अन्य निर्णयहरू

सरकारले  रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म  भारत भ्रमणको लागि स्वीकृति दिने निर्णय गरेकाे छ। भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणामा उप्रेती पाँच दिवसीय भ्रमणमा भारत जान लागेका हुन्।

यस्तै पेट्रोलियम अन्वेषणका चिनियाँ अनुसन्धानकर्तालाई  दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले वाग्मती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, भारतमा आयोजना हुने नेपाल-भारत विद्युत व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

त्यसैगरी सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२औं तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फर्स्ट फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरुवा गर्ने निर्णय गरिएको छ।

त्यस्तै सरकारले न्याय सेवा आयोगको सिफारिसबमोजिम महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्रांकित विशेष श्रेणीको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने, बढुवा समितिकै सिफारिसबमोजिम विभिन्न मन्त्रालयअन्तर्गतका विभिन्न सेवा समूह, उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहका राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ।

मन्त्री शर्माले सिंहदरबारमा मंगलबार बसेको मन्त्रालयस्तीय बैठकले सबै मन्त्रालयका कार्ययोजनालाई आगामी बजेटको केन्द्रबिन्दुमा राखेर अघि बढ्नेकुरातर्फ प्रधानमन्त्रीले निर्देशन दिएको पनि बताइन्। उनले बैठकले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रको बीचमा समन्वय गर्न मन्त्रालयस्तरीय बैठकको आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएको जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर