नेपाललाई ७ अर्ब सहयोग गर्ने यूएसएआईडी प्रमुख सामन्था पावरको घोषणा

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक समान्था पावरले ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेकी छन्।

नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि उनले मंगलबार ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा भएको हो।

उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।

यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको पनि अमेरिकाले जनाएको छ।

यूएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने अमेरिकाले जनाएको छ।

आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही बनेर सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकाले स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम पनि यसमा राखेको छ।

कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि यूएसएआईडीले स्थानीय नेपाली संगठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने अमेरिकाले जनाएको छ।

यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकांक्षाहरूलाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको यूएसएआईडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेका उसको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *