परराष्ट्रमन्त्री पौड्याल र यूएसएआईडी प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको थियो।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् भने प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरिन्।

दुई दिने नेपाल भ्रमणमा आएकी प्रशासक पावरले यूएसएआईडीकी १९औं प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन्। उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन्।

उनी सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र संघका लागि २८औं अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन्। प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर