राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराएरै छाड्छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको बताए।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिमा आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताए। महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने बताए।

विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो।

महामन्त्री थापाको भनाइ
‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद विघटनको बेलामा हेर्‍याैं । सम्माननीय राष्ट्रज्यू समक्ष अडकिएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन । जसलाई मैले संसदमा पनि राखेको छु । भोलीको दिनमा पनि फेरी संसदमा राख्नेछु । कतिपय सन्दर्भमा यसमा मेरो पार्टी भित्र पनि आफ्नो विचार छन । तर हाम्रो व्यवस्थाले के भन्छ–म जस्तो सांसदलाई त्यो विधेयकको अध्यादेशको मेरिटमा पसेर त्यसको पक्षमा उभिने र विपक्षमा उभिने मलाई जिम्मेवारी दिएको छ वा त्यो मेरो अधिकार हो । त्यसको आधारमा मैले भोली फेरी चुनावमा जाँदा हिसावकिताव देखाउनु पर्छ । यो पटक म संसदमा एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा उभिए । निर्वाचनमा क्षेत्रमा हाल्छु भोट तलाई एमसीसी पास गर्ने भनेर गाली खाँए । कतिपय ठाउँमा भोट पाईन । म सांसद हु नि त । हाम्रो व्यवस्थाले हामीलाई त्यही दिएको छ नि त । राष्ट्रपतिजीलाई त्यो संग जोडेको छैन । तर अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति नेकपा एमालेले बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली काँग्रेसले हामीले लुकाउने कुरा छ र ? हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोसिस गर्छौं । लाग्छौं लाग्छौं । यो स्वभाविक हो नि । अस्वभाविक हो र । आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछाैं । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं । र, हामीलेको भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिस गछौं । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर