ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन्।

मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष गोल्छाले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरे।

अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरू आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको उनले बताए। अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिटभन्दा बढी तीव्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए।

उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए। अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उनले उल्लेख गरे। बैंकरहरू अर्थतन्त्रमा समस्या आउनुभन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरू ठूलो दुर्घटनामा नपरेको उनले दाबी गरे।

अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नुभन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए। सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिबन्ध, चालु पुँजी कर्जासम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको उनको टिप्पणी थियो।

अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बँचे पनि उद्योगी व्यवसायीहरूका हात खुट्टा भाँचिएको बताए। उनले सरकारले उद्योगी व्यवसायीहरूको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताए। उनले सरकारले उद्योगी व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए।

अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने पनि बताए। तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर