एमालेले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने

नेकपा (एमाले)ले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरूट’ नाम दिईएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरू सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले बताए।सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा सुरु हुने उनले जनाए।

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ। त्यसैगरी पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

सञ्चारकर्मीहरूको जिज्ञासको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताए। उनले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिए।

त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उनले बताए। फरकफरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिन सक्ने भन्दै ती असमझदारीहरूलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे।

उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। एमालेले गठबन्धन टिकाउने संकल्प गरेको पनि उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *