सीआईबीको अपरेशन ‘रुट टु रुट’ : खाग बरामद तर खरिददार र गन्तव्य भेटिएन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब ३८ दिन लामो विशेष कारबाहीमा चितवनमा गैडा मारेर खाग निकाल्नेदेखि काठमाडौंमा बेच्नका लागि तयारी अवस्थामा राख्ने आरोपीसम्मलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।

सीआईबीले अपरेशन ‘रुट टु रुट’ नाम दिएको यो विशेष कारबाहीमा यो गिरोहका १५ जना पक्राउ परेका छन् ।

तर, यसअघिका घटनामाजस्तै दुर्लभ बन्यजन्तुको आखेटोपहारका लागि उनीहरुको हत्या, ओसारपसार र किनबेचको तयारी अवस्थामा आरोपी पक्राउ परेपनि यसका प्रमुख खरिदकर्ता र गन्तब्य देशका विषयमा केही खुलासा हुन सकेन् ।

ब्यूरोका अधिकारीहरुले यस घटनामा पनि मुख्य ब्यक्तिका विषयमा सोधिएको प्रश्नमा बिस्तृत अनुसन्धान भइरहेको मात्र बताए ।

अनुसन्धान अधिकारीहरुले १९ पुसमा काठमाडौंबाट बयस्क गैडाको खागसहित इन्द्रमणी आचार्य र जमुना आचार्यलाई पक्राउ गरेपछि विशेष कारबाही अपरेशन ‘रुट टु रुट’ सुरु भएको थियो । आचार्यद्वय अवैध रूपमा ओसारपसार तथा खरिद बिक्रीको लागि बजार खोज्नेक्रममा खाग सहित पक्राउ परेका थिए ।

ब्यूरोका अधिकारीहरुले यी दुबैको बयानपछि १२ माघमा उनीहरुलाई बेचबिखनका लागि खागदिने ब्यक्तिहरु बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । उनीहरुलाई अर्का आरोपी डम्बरकुमार आले मगरसँग खाग लिएर बिक्रि गर्नको लागि इन्द्रमणी आचार्यलाई दिएका थिए ।

२० माघमा डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाही पक्राउ परे । यी तीन आरोपी कमला तामाङ र बीरमान वाईवासँग खाग लिई बिक्रि गर्नको लागि बाबुलाल भट्टराईलाई दिएका थिए ।

यसपछि २२ माघमा हरिमाया राना पक्राउ परिन् । उनी स्याङ्जाबाट पक्राउ परेकी हुन् । उनी खाग विक्रि गर्नको लागि अर्का आरोपीहरु कमला तामाङलाई निर्मल शाहीसँग चिनजान गराई खागको फोटो पठाउने तथा मोलतोल गर्ने कार्यमा संलग्न रहेकी थिइन् ।

त्यस्तै २४ माघमा चितवनबाट कमला तामाङ पक्राउ परिन् । उनी शिकारी समुहबाट खाग लिई विरमान वाईबा समेतको सहयोगमा खाग विक्रि गर्नको लागि चितवनबाट काठमाण्डौ ल्याई हरिमाया राना मार्फत चिनजान भएका निर्मल शाहीको समुहलाई दिएको घटनामा संलग्न थिइन् ।

यसपछि अन्तमा २५ माघमा ब्यूरोको टोलीले सोम बहादुर चेपाङ, तुलसी चेपाङ बीरमान वाईबा, राधाकृष्ण चेपाङ र आइत बहादुर तामाङलाई पक्राउ गरेको थियो । यो परिवारले चितवनको वन क्षेत्रबाट गैंडा मारी खाग काटी अवैध रूपमा बिक्री गर्नको लागि कमला तामाङलाई दिएको थियो ।

ब्यूरोका एसपी सञ्जयसिंह थापाका अनुसार गैंडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको छ ।

चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौंसम्म खाग ल्याएको पाइएको अनुसन्धानमा खुलेको छ । त्यसबेला खागलाई २० लाख रुपैयाँमा विक्री गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

ब्यूरोले विस्तृत अनुसन्धान गरिरहेको एसपी थापाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर