राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। राष्ट्रपतिबाट हुने सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ।

राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ। उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर