माओवादी केन्द्रको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित

अब केन्द्रीय कमिटीमा छलफल हुने

पार्टीको नाम र चुुनाव चिह्न परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको प्रस्ताव स्थायी कमिटीले पारित गरेको छ।

माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिह्न फेर्न प्रस्ताव गरेका थिए।

‘संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू–राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ।

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले प्रचण्डको प्रस्ताव स्थायी कमिटीले पारित गरेको र त्यसलाई केन्द्रीय कमिटीमा लैजाने बताए। दुई महिने संगठन निर्माण अभियानका क्रममा समेत यो विषयमा छलफल चलाइने उनले बताए।

‘पार्टीको नाम र चुनाव चिन्ह फेर्ने विषय धेरै पहिलादेखि बहसमा आएको हो। यसपटक तल्ला कमिटीसम्म बहस हुन्छ,’ उनले भने,’दुई महिनापछि बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे थप छलफल हुन्छ। त्यही बैठकले जरुरी ठानेमा निर्णय गर्न सक्छ।’

निर्वाचनअघि माओवादी केन्द्रले अरू दलहरूलाई मिलाएर समाजवादी केन्द्र बनाउने प्रयास गरेको थियो। त्यसका लागि उसले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग छलफल समेत गरेको थियो। माओवादीको उक्त प्रयास सफल भएको थिएन। त्यो बेलामा माओवादीका केही नेताले पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव गरेका थिए।

माओवादीबाट २०७२ सालमा छुट्टिएका बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले मंसिरमा भएको निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएको थियो।माओवादीसँगको एकताका लागि पार्टीको नाम फेर्नुपर्ने अडान भट्टराईले राख्दै आएका छन्।

चुनाव चिह्न अलि असजिलो खालको भएकाले फेर्नुपर्ने धारणा पार्टीमा पहिल्यैदेखि आएको माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले बताए। ‘पार्टीको नाम र चुनाव चिह्नको बहस नौलो होइन। हामीकहाँ यसबारे छलफल भइरहेको छ,’ उनले भने, ’अहिले नै एउटा निष्कर्षमा पुग्न सकिएको छैन। यसबारे अझै छलफल होला।’

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संसदीय राजनीतिमा विभिन्न पार्टीको मोर्चा बनाउने भएपछि पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने हो कि भन्ने धारणा आउनु स्वाभाविक रहेको बताइन्। उनले अहिले नै यसबारे औपचारिक बहस भने सुरु नभएको दाबी गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *