शिवरात्रिका लागि सिँगार्न थालियो पशुपति (तस्बिरहरू)

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ। मन्दिर परिसरमा रङरोगनको काम धमाभम भइरहेको छ। यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिका लागि छिमेकी देश भारत, श्रीलंकालगायतबाट साधुसन्तहरूसमेत नेपाल आउने क्रम जारी छ। यसरी आउने साधुहरूलाई दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ।

शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गर्दछन्। शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ। उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास बस्ने र रात्रि जागरण गर्ने गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरू, रङरोगन र फूलहरूले सजाउन थालिएको छ। शिवरात्रिका लागि पशुपतिका गेटहरू सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरूमा सरसफाइको कार्य जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *