पाेखरा विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजा हनुमानचोकका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ।

दुर्घटनामा ज्यान गुमाएका राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो। अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो। राजनको शव माघ ८ गते काठमाडौंमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो।

डिएनएको रिपोर्ट आइतबार प्राप्त भएपछि काठमाडौंबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए। विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए। उनलाई लिन श्रीमती अनिषा काठमाडौं गएकी थिइन्। पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान सेतीखोंचमा दुर्घटनामा परेको थियो। सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए।

यसैगरी दुर्घटनामा ज्यान गुमाउने पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको पनि सोमबारै अन्त्येष्टि गरिएको छ। उनको पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा सोमबार बिहान अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन्। सविनाको पनि शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौं लगिएको थियो।

डिएनएको रिपोर्ट आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर