बालाजु घटना सम्झाउँदै आईजीपी सिंहको निर्देशन- आवश्यकतामा कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढी सक्रिय भई आ-आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताएका छन्।

प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन्।

आम नागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन सक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू।’ साथै घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनसमेत उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताए। फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत उनले बताए।

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिबद्ध रहेको बताए। यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगति भएको चर्चा गर्दै उनले उपत्यकास्थित प्रहरी वृत्त एवं प्रभागहरूको सुधारका लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरामा ल्याइने बताए।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर