बालाजु घटना : आगजनी तथा तोडफोडमा संलग्न ६ र लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौंको बालाजु क्षेत्रमा सोमबार यातायात मजदुरहरूको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ।

माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा आगजनी र तोडफोड गर्ने ६ जना पक्राउ परेका छन्। यस्तै आन्दोलनका क्रममा नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटमा संलग्नमध्ये हालसम्म ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका अभियुक्तहरूलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने ६ जनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन्।

माेबाइल लुटपाटमा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गर्दै प्रहरी।

पक्राउ परेकाहरूउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको एसएसपी कार्कीले बताए।

यस्तै एसएसपी कार्कीले ल्होत्से मलमा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रूपन्देही घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने प्रदीप बस्नेत रहेका छन् ।

उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको कार्कीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर