क्यासिनो सञ्चालनमा कडाइ, एक लाइसेन्सबाट एउटा मात्र चलाउन पाउने प्रस्ताव

सरकारले क्यासिनो सञ्चालनमा कडाइ गर्ने गरी ऐन संशोधन गर्न संसदमा विधेयक दर्ता गरेको छ । बुधबार संसदमा दर्ता भएको विधेयकमार्फत सरकारले एउटा लाइसेन्सबाट एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

पर्यटन ऐन २०३५ मा संशोधन गर्न लागिएको विधेयकमा इजाजतपत्र दिँदा एक कम्पनीलाई एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न इजाजतपत्र नदिइने प्रस्ताव गरिएको हो । हाल सञ्चालकहरुले एउटा लाइसेन्सबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

यस्तो क्यासिनो सञ्चालन गर्नेमा रक इन्टरनेशनल, सिल्भर हेरिटेज, ह्याप्पी आवर, सेन्ट्रल मिडिया लगायत छन् । रक इन्टरनेशनले साथी (धनगढी), बोधी रेडसन (भैरहवा), रियाज (झापा), सुरज (वीरगन्ज) क्यासिनो चलाउँदै आएको छ । सिल्भर हेरिटेजले सांग्रिला (लाजिम्पाट) र टाइगर प्यालेस (भैरहवा) क्यासिनो सञ्चालन गरेको छ ।

ह्याप्पी आवरले स्विट ड्रीम (महेन्द्रनगर), लाकोल (भैरहवा), ढाका (काँकडभिट्टा) र स्नेहा (नेपालगञ्ज) क्यासिनो चलाएको छ भने सेन्ट्रल मिडियाले ड्रीमल्याण्ड ओपेरा (महेन्द्रननगर), प्लाटिनम (काठमाडौं), ड्रीमल्याण्ड (भैरहवा) र भिश्वा (वीरगन्ज) सञ्चालन गर्दै आएको छ ।

अब भने सरकारले आगामी असारभित्र कम्पनीले रोजेको कुनै एक क्यासिनो मात्र सञ्चालन गर्न पाउने व्यवस्था विधेयकमा गरेको छ । यस्तै, कम्पनीले सञ्चालनको लागि रोजेको क्यासिनो बाहेक सञ्चालनमा रहेका अन्य क्यासिनो सञ्चालन गर्न चाहेमा २०८१ साल असार मसान्तभित्र अलग अलग कम्पनी स्थापना गरी इजाजत पत्र लिनुपर्ने जनाइएको छ ।

२०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो संचालन गर्न पाउने व्यवस्था थियो । तर सरकारले नियमावली र आर्थिक विधेयकमार्फत एउटै मात्र चलाउन अनिवार्य गरेपछि अदालतमा रिट दायर भएको थियो । अदालतले स्टे अर्डर दिएपछि एकै लाइसेन्सबाट धेरै क्यासिनो सञ्चालन हुँदै आएको हो ।

अब भने अलगअलग कम्पनी दर्ता गरी लाइसेन्स लिनुपर्ने र त्यसका लागि सरकारलाई तिर्न बाँकी रोयल्टी, शुल्क र बक्यौता बुझाउनुपर्ने उल्लेख छ । पर्यटन विभागका अनुसार केही क्यासिनोले शुल्कबापत तिर्नुपर्ने बक्यौता १ अर्ब ५५ करोड रुपैयाँ छ । हाल देशभर २६ वटा क्यासिनो सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर