बालाजु घटना : थप १५ जना पक्राउ, माेबाइल लुटपाटमा अधिकांश चालक र सहचालक नै संलग्न

प्रहरीले सोमबार बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा संलग्न भएको अभियोगमा बिहीबार थप १५ जनालाई पक्राउ गरेको छ। यसअघि बुधबार १० जना पक्राउ परेका थिए।

बिहीबार पक्राउ परेकाहरूमध्ये ३ जना मोबाइल लुटपाटमा र १२ जना आगजनी तथा तोडफोडमा संलग्न रहेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार मोबाइल लुटपाटमा संलग्नमध्ये अधिकांश चालक र सहचालक रहेको पाइएको छ।

बुधबार र बिहीबार पक्राउ परेकाहरूमध्ये ९ जना चालक र सहचालक मोबाइल लुटपाटमा संलग्न रहेको अनसन्धानबाट थाहा भएको हो।

पक्राउ परेकामध्ये ९ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको उनले बताए ।

मोबाइल लुट्ने क्रममा सीसीटीभीमा देखिएका मुख्यमुख्य अभियुक्तहरूलाई पक्राउ गरिसकिएको र थप केही जना निगरानीमा रहेको उनले बताए।

सोमबार आन्दोलनकारीले माछापोखरीमा प्रहरीको दुईवटा गाडी र अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए। बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको थियो। ट्राफिक आयल्यान्ड पनि भत्काएका थिए।

यस्तै ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो। व्यवसायीले ८ देखि १० करोड रुपैयाँको मोबाइल लुटिएको दाबी गरेका छन्।

घटना छानबिनका लागि प्रहरी प्रधान कार्यालयले डीआईजी मसाउद आलम खाँको नेतृत्वमा समिति बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर