शंकाराचार्य निश्चलानन्द सरस्वती काठमाडाैंमा, यस्तो छ तीन दिने कार्यतालिका

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती काठमाडौं आइपुगेका छन्।

शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौं आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए। शंकराचार्यलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गरेका थिए।

शंकराचार्य निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन्। उनका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शंकराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ।

भारत वर्षमा हिन्दू धर्मका सर्वाेच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्।

भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पीठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन्।

गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने भारत वर्षको पूर्वी क्षेत्र हेर्दै आएका छन्। नेपाल सांस्कृतिक रूपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा रहनेछन्।

शंकराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्नुहुने कार्यक्रम छ। दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शंकराचार्य मठमा प्रवचन गर्ने कार्यक्रम रहेको बताइएको छ। आजै साँझ उनले धर्मशालामा हुने अन्तर्क्रिया  कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ।

शनिबार महाशिवरात्रिमा उनी प्रमुख पात्रका रूपमा रहन्छन्। ‘महाशिवरात्रि पर्वमा कोही पनि प्रमुख अतिथि हुँदैनन्। उहाँको प्रमुख उपस्थिति हुने गरी कार्यक्रम तय भएको छ,’ खतिवडाले भने।

आइतबार पनि उनले पशुपतिनाथ परिसरस्थित शंकराचार्य मठमा सहभागीहरूलाई सम्बोधन गर्ने र दीक्षा दिने कार्यक्रम छ।

शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ। जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ,’ खतिवडाले भने।

शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग समबन्धित प्राध्यापक एवं विद्यार्थीहरूसँग अन्तकर्क्रिया गर्ने कार्यक्रम छ। ‘वैदिक गणितका उहाँ प्रकाण्ड विद्वान हुनुहुन्छ। उहाँले वैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनु हुने कार्यक्रम छ,’ खतिवडाले भने।

शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाइएको छ। उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए।

शंकराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ। यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ। पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर