सेनाका उच्च अधिकारीको कोपभाजनमा परेका कर्णेल चापागाईंले पाए सफाइ

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा र अन्य उच्च पदाधिकारीको कोपभाजनमा परी निलम्बन भएका सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) चन्द्रप्रकाश चापागाईंले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पौड्याल, रक्षासचिव किरणराज शर्मा, सेनाको प्राड विवाक प्रमुख सदस्य रहने अदालतले कर्णेल चापागाईंलाई बिहीबार सफाइ दिएको हो ।

सिंह दल गणबाट लेबनान मिसनको गणपति रहँदा उनले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै २४ असार २०७८ मा सैनिक प्रहरीले चापागाईंलाई नियन्त्रणमा लिएको थियो भने उनीमाथि कोर्ट मार्सल सुरु भएको थियो । यद्यपि चापागाईं सेनाका अवकाशप्राप्त एक उच्च अधिकारीका आफन्त, जो सेनामा कार्यरत छन्, उनको साथ नदिएको आरोपमा कारबाहीमा परेको स्रोतको भनाइ छ ।

यस्तो थियो घटना
चापागाईं गणपतिको रुपमा लेबनान मिसनमा जाने बेलामा सेनाको अवकाशप्राप्त उपरथीको आफन्त पनि उक्त टोलीमा थिए । तर, उनले तालिम र अन्तिम प्रवचनको प्रक्रिया नै पूरा गरेका थिएनन् । जब कि मिसनमा जान उक्त प्रक्रिया र तालिम अत्यावश्यक हुन्छ ।

लेबनान पुगेर पनि उनले आफ्ना सहकर्मीलाई दुर्व्यवहार गर्नुका साथै नेपाल फिर्ता पठाउन कर्णेल चापागाईंलाई दबाब दिएका थिए । नेपालबाट सेनाका उच्च अधिकारीले पनि दबाब दिँदा समेत कर्णेल चापागाईंले ती अधिकारीको दोष नभएको र कारबाही गर्न नसकिने जनाएका थिए ।

कर्णेल चापागाईंले तत्कालीन प्रधानसेनापति थापाले ‘उच्च मनोबलका साथ काम गर्न, कसैको दबाबमा परी निर्णय नगर्न र सेनाको नीतिनियम पालना गर्न’ आफूले पनि त्यसै गर्ने बताएका थिए । तर, तत्कालीन प्रधानसेनापति थापाले नै यस विषयमा असन्तुष्टि जनाएपछि चापागाईं नेपाल आएपछि पक्राउ परेको स्रोतको भनाइ छ ।

कर्णेल चापागाईंको त्यो स्टाटस
सेनाको उच्च अधिकारीको आफन्तको अराजकताका कारण कर्णेल चापागाईंले आफ्नो जोडाहरुको ग्रुपमा ती उपरथीविरुद्ध स्टाटस लेखेका थिए । ‘….कहिले घर जाने हुन्, त्यसपछि बल्ल हाम्रो पालो आउला’ भन्ने आशयले साथीहरुसँग सोधेका थिए । तर, त्यही सञ्जालमा रहेका चापागाईंका ब्याचीले यो स्टाटस ती उपरथीलाई देखाए । त्यसकारण नेपाल फर्किएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।

स्रोतका अनुसार कर्णेल चापागाईंले मिसनमा रहेका निर्दोष सैनिक अधिकारीलाई कारबाही गर्न अस्वीकार गरेको र स्टाटस लेखेको आधारमा नै उनीमाथि निसाना साध्न पक्राउ र कोर्ट मार्सल सुरु गरिएको थियो । तर उनीमाथि सिनियरले भनेको नमानेको, आर्थिक अनियमितता र आफ्नो तल्लो दर्ताका सैनिकलाई कुटपिट गरेको आरोप लगाइएको थियो । यद्यपि यसबारेमा कतैबाट मौखिक तथा लिखित उजुरी पनि नपरेको स्रोतको भनाइ छ ।

जबर्जस्ती कोर्ट अफ इन्क्वायरी
कर्णेल चापागाईंमाथि आरोपपछि जाँच गर्न भोला पाण्डे र कृष्णराज आचार्यको नेतृत्वमा दुई छुट्टाछुट्टै समिति सेनाले बनाएको थियो । तर, ती समितिले पनि कर्णेल चपागाईंलाई निर्दोष साबित गरेको थियो । ती समितिले प्रारम्भिक निष्कर्षमा गणपति रहँदा उनले कसैमाथि दुव्र्यहार तथा आर्थिक अनियमितता नगरेको र शान्ति मिसनमा पनि राम्रो काम गरेको उल्लेख गरेको थियो ।

तर, समितिको प्रतिवेदनलाई लत्याउँदै सेनाका तत्कालीन उच्च अधिकारीको दबाबमा कर्णेल चापागाईंमाथि कोर्ट अफ इन्क्वायरी सुरु भएको थियो । सैनिक समरी जनरल अदालतले उनलाई दोषी ठहर गरे पनि हाल सैनिक विशेष अदालतले भने त्यो फैसलाई बदर गर्दै उनलाई सफाइ दिएको हो ।

चापागाईंका अधिवक्ता अरुण पौडेलले बिहीबार सैनिक विशेष अदालतले उनलाई सफाइ दिएको पर्दाफासलाई बताए । ‘मिलिटरी जस्टिस सिस्टममा पनि रुल अफ लको रेस्पेक्ट भएको देखियो,’ अधिवक्ता पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर