अबकाे हप्ता १० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्छ : कांग्रेस प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्ने दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए। उनले एमालेमा धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए। उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए।

प्रमुख सचेतक लेखकले मूल राजनीतिक मुद्दा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए। उनले नेकपा एमाले संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दैसंविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी रहने बताए।

उनले भने, ‘एमालेको अत्यन्त ज्यादा अधैर्य र अस्थिर राजनीति देखिएको छ। उहाँहरू ज्यादै विचलित हुनुभएको छ। त्यसको कारण के हो मलाई थाहा छैन। उहाँहरूको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्ने कुरा देखाइरहेको छ। राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौं। कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो। संसद्मा हामी सबैभन्दा धेरै संख्यामा छौं। सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौं। सबै राजनीतिक दलहरूभन्दा बढी हाम्रो मतभार । आजका दिनमा मूल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ। किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि! जुनसुकै बेला संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन। यस्ता पदहरू जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी हुन्छ। राजनीति नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ। यही हप्ता १० दिनमा। नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ।’

प्रमुख सचेतक लेखकले कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर