डीआईजी अशोक सिंह : उमेर र शैक्षिक योग्यता विवादको यस्तो छ सत्यता

भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका र त्यसका लागि विभिन्न शक्तिकेन्द्र धाइरहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहलाई गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको छ ।

नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेपछि अख्तियारका साथै प्रहरी प्रधान कार्यालयले समेत अनुसन्धान थालेको छ ।

हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले १८ वर्ष पूरा भई नागरिकता प्राप्त गरेका थिए । उनको नागरिकता जारी मिति २२ जेठ २०४२ रहेको र १८ वर्ष पुगेको नागरिकतामा उल्लेख छ (हेर्नुस् नागरिकताको तस्बिर) ।

नागरिकता जारी भएको मितिमा १८ वर्ष पुगेको भन्ने विवरणले उनको जन्ममिति २२ जेठ २०२४ हुन्छ । तर, सिंहले प्रहरी सेवा प्रवेशको क्रममा आफ्नो जन्ममिति १६ पुस २०२५ टिपाएको प्रहरी किताबखानाको तथ्यांक छ ।

उनी ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । इन्स्पेक्टरमा दरखास्त दिने म्यादसम्म २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्छ । तर, नागरिकताअनुसार उनले प्रहरी प्रवेशमा नै उमेर ढाटेको र २५ वर्ष नाघिसकेको पुष्टि हुन्छ । इन्स्पेक्टर पदमा भर्ना हुँदा उनी २६ वर्ष पुगिसकेका देखिन्छन् ।

यसरी सेवा प्रवेशको बेलामा नै उमेर ढाटेका सिंह गत १९ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । बढुवाको बेलामा उनको नागरिकताको विवरणअनुसार उमेर ५५ पुगिसकेको देखिन्छ भने उनले टिपाएको जन्ममितिअनुसार भने १ वर्ष कम हुन्छ । प्रहरी नियमावलीमा ५५ वर्षमा उमेर हदका कारण एसपी तथा एसएसपीले अवकाश पाउने प्रावधान छ ।

नागरिकताअनुसार सिंहले एसएसपी पदमा नै अवकाश पाउने देखिन्छ । तर, उनले टिपाएको जन्ममितिको आधारमा डीआईजीमा बढुवा भएका छन् । एसएसपीमा रहँदा २० औं वरीयतामा रहेका उनी डीआईजीमा भने तेस्रो नम्बरमा बढुवा भएका हुन् । डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर, दोस्रो नम्बरका टेकप्रसाद राई, तेस्रो नम्बरका सिंह र चौंथो नम्बरका दीपक थापा आईजीपी पदका लागि दाबेदार छन् ।

हालका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आगामी चैतमा सकिँदै छ । त्यसैले पनि भावी आईजीपीका लागि अहिले चर्को प्रतिस्पर्धा छ । यस क्रममा डीआईजी सिंहले आईजीपी बन्न शक्ति केन्द्रमा लबिइङ तीव्र बनाएपछि आईजीपी सिंह पनि असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

 

डीआईजी अशोक सिंहको नागरिकता

स्रोतका अनुसार डीआईजी सिंहको जन्ममिति र उमेरको विषयमा अनुसन्धान गर्न आईजीपी सिंहले प्रहरी किताबखानासँगको सहकार्यमा काम गर्न सचिवालयलाई निर्देशन दिइसकेका छन् । अख्तियार स्रोतले पनि डीआईजी सिंहको शैक्षिक योग्यताको कागजपत्रमा अनुसन्धान थालिसकेको जानकारी दिएको छ । ‘सिंहको नागरिकताको विषयमा अख्तियारले छानबिन गर्न मिल्दैन । यसका लागि गृह मन्त्रालयलाई नै जिम्मा दिनेछौं । शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा भने अनुसन्धान थालेका छौं,’ अख्तियारको उच्च स्रोतले पर्दाफासलाई भन्यो ।

अख्तियारमा गत बुधबार परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको उल्लेख छ । ‘सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेश गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए । त्यस्तै उनले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो, जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन । सो सम्बन्धी सम्पूर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ,’ उजुरीमा भनिएको छ ।

उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको पनि आरोप लगाइएको छ । प्रहरीको एआईजीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुने व्यवस्था छ । गृहसचिव सिंहले आफै अध्यक्ष रहेको समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको र यो ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने उजुरीमा दाबी गरिएको छ ।

‘लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ,’ उजुरीमा उल्लेख छ ।

यस्तै सिंहको नागरिकताको विषयमा पनि उजुरीमा प्रश्न उठाइएको छ । इन्स्पेक्टरमा खुला परीक्षाबाट प्रतिस्पर्धा गर्ने बेलामा उनले जन्ममिति १६ पुस २०२५ उल्लेख गरेको र नागरिकता र सिटरोलमा भएको जन्ममितिमा १ वर्ष ६महिना १४ दिनको फरक रहेको उजुरीमा उल्लेख छ । ‘सिंहले प्रहरी निरीक्षक पदमा दरखास्त दिने अन्तिम म्याद १ मंसिर २०५० थियो । प्रहरी निरीक्षक पदमा दरखास्त दिने अन्तिम मितिसम्ममा दरखास्त दिने उमेर २५ वर्ष पूरा भएको हुनुहुँदैन । निजको नागरिकताको जन्ममिति २२ जेठ २०२४ ले १ मंसिर २०५० मा निजको उमेर २६ वर्ष ५ महिना ९ दिन हुन्छ,’ उजुरीमा उल्लेख छ ।

नागरिकता तथा शैक्षिक कागजपत्रको विषयमा सिंहमाथि लागेको आरोपको विषयमा पर्दाफासले उनको व्यक्तिगत नम्बरमा फोन गर्दा सम्पर्कमा आउन चाहेनन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सम्पर्कमा गर्दा उनी केही दिन बिदामा बसेको कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेलले सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा हालसम्म प्रहरी प्रधान कार्यालयबाट कुनै छानबिन अघि नबढेको पर्दाफासलाई जानकारी दिए । ‘हालसम्म यसबारेमा कुनै जानकारी छैन । अख्तियारमा उजुरी परेपछि त्यसमा अख्तियारले नै छानबिन अघि बढाउला । अख्तियारले जानकारी गराएमा मात्र प्रहरीले आफ्नो काम गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर