राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे मतभार २०६८ को जनगणनाका आधारमा- आयाेग

प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाका आधारमा गरिने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात् सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ०६८ सालको जनगणनाका आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताएका हुन्।

उनले ०६८ सालको जनगणनाका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भएबमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे।

निर्वाचनसम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि हालैको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उनले बताए।

उनले २५ गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनले बताए।

उनले २५ गते दिउँसो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताए। कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उनले जानकार।ी दिए।

निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *