एकीकृत समाजवादीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्।

उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए। उनले भने, ‘हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौं। अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभयो। तर, राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन। त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला हल्ला मात्रै रहेछ।’

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्त्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए।

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले प्रतिगामी हर्कतहरू बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताए।

उनले भने,‘केही दिनयता संविधानको विरुद्धमा धेरै प्रकारका गतिविधिहरू भइरहेको देखिन्छ। संविधानलाई अन्त्य गर्न र संविधानमा भएका व्यवस्थालाई समाप्त गर्न, हिन्दू राज्य, राजतन्त्तका लागि भनेर चलाइएका गतिविधिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ। प्रतिगामी हर्कतहरू बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउने, परामर्श गर्ने र लोकतन्त्रवादीलाई एक ठाउँमा जुटाउने सुरुवात गर्नेछ।’

उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर