भारतमा १ सय १ किलो सुन बरामद, नेपालबाट तस्करी भएको दाबी

भारतको राजस्व अनुसन्धानसम्बन्धी निर्देशनालय डीआरआईले देशभरमा चलाएको अभियानमा करिब १ सय १ किलो सुन बरामद गरेको छ । तस्करीको भनिएको उक्त सुन नेपालबाट लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरआईका अधिकारीका अनुसार पटना, पूणे र मुम्बईबाट सुन बरामद गरिएको हो । तस्करीमा संलग्नताको आरोपमा १० जना पक्राउ पनि परेका छन्, जसमा सात जना सुडानी नागरिक र तीन भारतीय छन् ।

अन्तर्राष्ट्रिय बजारमा उक्त सुनको मूल्य करिब ५१ करोड भारु रहेको जनाइएको छ । नेपाल–भारत सीमाबाट सुडानी नागरिकको माध्यमबाट यो तस्करी चलिरहेको भारतीय सञ्चारमाध्यम ‘द टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

डीआरआईको कारबाहीको क्रममा १.३५ करोड भारु र विदेशी मुद्रा पनि बरामद भएको छ । बरामद सुन ‘पेस्ट’ को रुपमा थियो । सुरुमा नेपालबाट पटना लगिएको र त्यहाँबाट रेल र हवाई मार्गको माध्यमबाट भारतका विभिन्न ठाउँमा पठाइएको दाबी गरिएको छ ।

डीआरआईका अनुसार पटना रेल्वे स्टेसनबाट मुम्बई जाने रेलमा सवार रहेका तीन जना सुडानी नागरिक आइतबार पक्राउ परेका थिए । उनीहरुको साथबाट ३७ किलो सुन बरामद भएको थियो । ज्याकेटमा लुकाएर उनीहरुले सुन तस्करी गर्दै थिए । सुन लुकाउनकै लागि विशेष रुपमा बनाइएको ज्याकेट उनीहरुले लगाएका थिए ।

उनीहरुकै सूचनाबाट पुणेबाट दुई सुडानी महिला पक्राउ परे । उनीहरु हैदराबाटबाट मुम्बई जाँदै थिए । उनीहरुले साढे ५ किलो सुन तस्करी गर्ने क्रममा थिए । थप दुई सुडानी नागरिक पनि सोमबार पटनाबाट मुम्बई जाने क्रममा पक्राउ परे । उनीहरुको साथबाट साढे ३८ किलो सुन बरामद भएको थियो । मुम्बईबाट पनि २० किलो सुनसहित ३ जना पक्राउ परेका थिए ।

नेपालमा पनि पक्राउ परेका थिए सुडानी नागरिक

नेपालमा पनि बेलाबेलामा सुन तस्करीको आरोपमा व्यक्तिहरु पक्राउ पर्दै आएका छन् । पछिल्लो समय गत ८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन सहित सुडानी नागरिक पक्राउ परेका थिए ।

सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनको लगेजमा सुन भेटिएको थियो । भिजिट भिसामा आएका उनी फ्लाई दुबईबाट काठमाडौंमा अवतरण भएका थिए । उनी सुन तस्करीको भरिया मात्र रहेको प्रहरीको निष्कर्ष छ । दुबई, हङकङ, चीनबाट भित्रिएको सुन नेपाल हुँदै भारतीय बजारमा पुग्ने गरेको अनुमान गरिए पनि मुख्य तस्कर पक्राउ पर्ने गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर