युरोपेली आयोगका कर्मचारीलाई ‘टिकटक’ प्रयोग गर्न प्रतिबन्ध

युरोपेली आयोगले सुरक्षा खतराको कारण देखाउँदै आफ्ना कर्मचारीलाई ‘टिकटक’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आयोगले डेटा र साइबर सुरक्षा बढाउन यस्तो उपाय अवलम्बन गरेको बीबीसीले उल्लेख गरेको छ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले प्रयोगकर्ताको डाटा संकलन गरी चिनियाँ सरकारलाई हस्तान्तरण गरेको आरोप लागेको छ।

युरोपेली संघ (ईयू) का उद्योग प्रमुख थियरी ब्रेटनले एक पत्रकार सम्मेलनमा संघ कार्यकारी साइबर सुरक्षामा धेरै केन्द्रित रहेको बताए।

प्रतिबन्धसँगै अब युरोपेली आयोगका कर्मचारीहरूले आयोगको आधिकारिक एप इन्सटल भएका मोबाइल फोनलगायत व्यक्तिगत उपकरणहरूमा टिकटक प्रयोग गर्न पाउने छैनन्।

आयोगमा स्थायी र करार गरी करिब ३२ हजार कर्मचारी कार्यरत छन्। उनीहरूलाई मार्च १५ भन्दा अगाडि नै आफ्नो मोबाइल फोनलगायतमा रहेको टिकटक एप हटाइसक्न भनिएको छ।

निर्धारित समयसीमा पालना नगर्नेहरूका लाग कर्पोरेट एपहरू, जस्तैः कमिसन इमेल र व्यवसायका लागि स्काइप उपलब्ध नहुने बताइएकाे छ।

यता टिकटकले भने आयोगको निर्णय आफ्नो प्लेटफर्मको बारेमा गलत धारणामा आधारित भएको बताएको छ। टिकटकका एक प्रवक्ताले आयोगको यो निर्णयबाट आफूहरू निराश रहेको बताएका छन्।

गत वर्ष टिकटकले चीनका केही कर्मचारीहरूले युरोपेली प्रयोगकर्ताहरूको डाटामा पहुँच राखेको स्वीकार गरेकाे थियाे।

अमेरिकी सरकारले गत वर्ष राष्ट्रिय सुरक्षा संवेदनशीलताको कारणा देखाउँदै संघीय सरकारले जारी गरेका यन्त्रहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर