सर्वोच्चले दिएन सन्दीपलाई भाेलि विदेश जाने अनुमति, दुवै रिटमा पर्सि सुनुवाइ

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर, उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ।

यससँगै सर्वोच्चले उच्च अदालतको पुस २८ गतेको आदेशविरुद्ध परेको रिट निवेदन पनि एकसाथ आइतबार पेस गर्न न्यायाधीश खतिवडाले आदेश दिएका छन्।

सर्वोच्चको यो आदेशपछि सन्दीप नेपाली क्रिकेट टोलीसँग शनिबार यूएई जान नपाउने भएका छन्। यदि आइतबार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई यूएई लाने क्यानको तयारी छ।

सोमबारदेखि यूएईको दुबईमा हुने त्रिकोणात्मक सिरिजमा नेपाली टिमले पपुवान्युगिनी र यूएईसँग ४ खेल खेल्नेछ। त्यसपछि कीर्तिपुरमा हुने ४ खेल भने सन्दीपले खेल्न पाउनेछन्।

यसअघि नामिबिया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्।

सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले पनि अपिल गरेको थियो। नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताएका थिए। उनले पनि सन्दीपलाई राष्ट्रका तर्फबाट खेल्न यूएई जान अनुमति दिन आग्रह गरेका थिए।

तर, न्यायाधीश खतिवडाले इजलासबाट सन्दीपको क्रिकेट करिअर अघि बढोस् भन्ने चाहे पनि कतिपय अफ्ठ्यारा रहेका बताएका थिए।

बहसका क्रममा सन्दीपविरुद्ध दुईतिर मुद्दा चलिरहेको अवस्थामा जोखिम मोलेर विदेश जान अनुमति दिने विषय गम्भीर भएको तर्क गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *