राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री दाहाल नै रहने बताएका हुन्। प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनले बताए।

उनले भने, ‘२५ गतेपछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ। त्यसो भएपछि अस्थिर कसले भन्ने? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो। धेरै पहिलादेखि भनेको थिँए, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो।’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताए। उनले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरूले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनपछि जसपा सरकारमा जाने बताए।

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रूपमा उत्तम र सर्वश्रेष्ठ रहेको बताए। उनले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताए। पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ।

उनले आफूहरूले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर