चिनियाँ नागरिकको धन्दा : विपन्न बालिकालाई पैसाको प्रलोभनमा यौनशोषण

गत शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा झापाकी एक बालिका हराएको सूचना आयो । बालिका सामान्य परिवारकी थिइन् । स्काउटमा आबद्ध भएकाले बेलाबेलामा कार्यक्रममा बाहिर जाने गर्थिन् ।

बालिकाका बुबा वैदेशिक रोजगारीमा गई सम्पर्कविहीन थिए । उनी आमासँग बस्दै आएकी थिइन् । बिहीबार विद्यालयबाट बालिका घर नआए पनि स्काउटको कार्यक्रममा गएको हुनसक्ने भन्दै आमाले वास्ता गरिनन् । तर, शुक्रबार पनि छोरी घर नआएपछि आमा आत्तिइन् । स्थानीय नेतालाई खबर गरिन् ।

उनीहरुले विद्यालयमा बुझे, तर बालिका एक महिनादेखि विद्यालय नआएको खुल्यो । उनले आफ्ना साथीहरुलाई अर्कै विद्यालयमा पढ्ने बताएकी थिइन् । तर, अर्को विद्यालयमा बुझ्दा पनि उनी त्यहाँ हाजिर नभएको थाहा भयो ।

६ कक्षामा अध्ययनरत बालिकाले आफ्ना साथीहरुलाई ‘चिनियाँ अंकल’ माया गर्ने र पैसा दिने बताएकी थिइन् । फेसबुकमा चिनजान भएका चिनियाँ नागरिकले उनलाई सपिङ तथा अन्य खर्चका लागि पैसा पठाइदिने गरेको बालिकाका साथीहरुले बताए । त्यसपछि त्यो सूचना सीआईबीमा आएका थियो ।

सीआईबीले त्यही दिन नै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक घटनाको सुइँको पाएपछि आफैं नै बालिकालाई लिएर प्रहरीकोमा आएको सीआईबीले जनाएको छ ।

चिनियाँ नागरिकको यस्तो धन्दा

पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ । ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

एसपी थापाका अनुसार यसरी काठमाडौं ल्याएका बालिकालाई उनले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैंले बेहोर्ने गरेको पनि खुलेको छ ।

सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको एसपी थापाले बताए । ‘अहिलेसम्म ६ नाबालिकामध्ये दुईजनालाई यौन शोषण गरेको खुलेको छ,’ उनले भने, ‘न्यलाई होटलमा लगेर ललाईफकाई गरी राखिएको पाइएको छ ।’

चिनियाँ नागरिकले विशेषगरी विपन्न बालिकालाई निशाना बनाउँथे । फेसबुकबाट चिनजान र पैसाको सहयोगपछि काठमाडौं बोलाएर २–४ दिन यहाँ घुमाउने गर्थे । जसबाट आकर्षित भएका बालिकालाई जबर्जस्ती यौनशोषण गर्थे । त्यसपछि पैसा दिएर बालिकालाई बाहिर बोल्न नदिने गर्थे । फेरि बालिकालाई प्रयोग गरेर उनका अन्य साथीलाई पनि चिनजान र काठमाडौं बोलाई यौनशोषण गर्ने गरेको पाइएको छ ।

उनका अनुसार पैसाको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छ जना बालिकाको उद्धार गरिएको पनि उनले बताए ।

सीआईबीले चिनियाँ नागरिकलाई थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालत ललितपुरबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर