प्रचण्ड सरकारको पुनर्गठन : यसरी हुनेछ मन्त्रालय भागबण्डा

सरकार गठनको दुई महिनामै सत्ता गठबन्धन फेरबदल भएको छ, जसका कारण अब सरकारमा सहभागी हुने दल फेरिने भएको छ भने विपक्षी दलको पनि टुंगो लाग्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा एमालेलगायत केही सानाठूला दलको सहभागितामा सरकार बनेको थियो । अब माओवादी नेतृत्वको सरकारमा कांग्रेस लगायत दल सहभागी हुने भएका छन् ।

दुई महिनाअघि सरकार गठन हुँदा माओवादी, एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी सरकारमा सहभागी भएको थियो । त्यतिबेला सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको थियो, तर उक्त पार्टी सरकारमा सहभागी भएको थिएन ।

तर, एक महिनाको अन्तरालमा तीनवटा पार्टी सरकारबाट बाहिरिसकेको छ । रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनाम बुझाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । एमाले र राप्रपाले भने मन्त्री फिर्ता बोलाउनुका साथै सरकालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

अब सरकारमा माओवादी र सीके राउत नेतृत्वको जनमत पार्टीका मात्र मन्त्री बाँकी छन् । प्रधानमन्त्री दाहाललाई १६ वटा मन्त्रालयको पनि जिम्मेवारी आएको छ । एमालेलगायत दलले सरकार छाडेपछि गृह, अर्थ, परराष्ट्र, रक्षा लगायतका महत्वपूर्ण मानिने मन्त्रालयहरू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको हो ।

राष्ट्रपतिका चुनावका लागि नयाँ आठ दलीय गठबन्धन बनेको छ, जसमा पहिलो दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । रास्वपा र राप्रपाले कुन पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने टुंगो लगाएका छैनन् ।

नयाँ गठबन्धन बने पनि र मन्त्रालय खाली भए पनि तत्काल मन्त्रिपरिषदले पूर्णता भने नपाउने भएको छ । दलहरुले मंगलबारदेखि सत्तामा भागबण्डाको विषयमा छलफल सुरु गरे पनि मन्त्रिपरिषद विस्तार भने राष्ट्रपति चुनावपछि नै हुने भएको हो । मन्त्रालय बाँडफाँट टुंगो लगाउँदा विवाद उत्पन्न हुनसक्ने र यसले राष्ट्रपति निर्वाचनलाई पनि असर पुग्न सक्ने भएकाले मन्त्रिपरिषद विस्तार केही दिनका लागि थाँति राखिने भएको हो ।

यद्यपि, बाँडफाँटमा सीट संख्यालाई आधार मान्ने र सबै दल एकैचोटि सहभागी हुने तयारी दलहरुले गरेका छन् । यसअघि एमालेले अर्थसहित आठ वटा मन्त्रालय लिएको थियो । माओवादीले प्रधामन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाएको थियो । रास्वपाले गृहसहित तीन र राप्रपाले पनि ऊर्जासहित तीन मन्त्रालय लिएका थिए ।

कांग्रेस नेताहरुका अनुसार पार्टीका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसमा सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाउन र त्यसका आधारमा मन्त्रीहरुको छनोट गर्न नेताहरुले माग गर्दै आएका छन् । कांग्रेसमा मन्त्री बन्नका लागि दौडधूप पनि सुरु भइसकेको छ ।

कांग्रेसले एमालेकै हाराहारीमा मन्त्रालय पाउने सम्भावना रहेको माओवादी नेताहरुको भनाइ छ । यस्तै, रास्वपा सरकारमा नआए उक्त पार्टी र राप्रपा बराबरको हिस्सा नेकपा एस, जसपा, लोसपालाई दिने तयारी भइरहेको छ ।

रास्वपाले समर्थन फिर्ता नलिएकाले सरकारमा सहभागी हुने सम्भावना भए पनि राप्रपाको भने त्यस्तो सम्भावना सकिएको छ । अब एमाले प्रमुख विपक्षी दल हुने भएको छ भने विपक्षमा राप्रपा, नेमकिपा दल रहने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर