राजसंस्था फर्काउन दुर्गा प्रसाईंले घोषणा गरे आन्दोलन

व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरे।

त्यस क्रममा उनले आन्दोलनमा आफूहरूले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको मासिक तलब कम्तीमा १ लाख ५० हजार पुर्‍याउनुपर्ने लगायतका १५ बुँदे माग प्रस्तुत गर्ने समेत बताए।

कैदीबन्दीहरूलाई जेलमुक्त गराई जेलहरूलाई श्रम शिविरमा रूपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरूलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरूलाई बिनाधितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने लगायतका माग पनि सरकारसमक्ष गरिने प्रसाईंले बताए।

उनले भने, ‘हाम्रा यी मागहरू पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनुहुन्छ। यो लडाइँ भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको, राजा खोजेको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर