एमाले नेतृ शाक्यलाई सामाजिक सञ्जालमा प्रश्न : फोटो किन क्रप गरेको ?

एमाले नेतृ सुजिता शाक्यले बिहीबार ट्विटरमा एउटा पोस्ट गरिन्- ‘तस्बिर आफैं बोल्छ, गठबन्धन किन फेरिएछ ?’ योसहितका अन्य प्रश्न र तस्बिर राखिएको उनको स्टाटस अहिले ट्वीटरमा भाइरल भएको छ ।

एमालेको पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष समितिकी इन्चार्ज शाक्य २०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभा सांसद समेत भएकी थिइन् । शाक्य लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलकी श्रीमती पनि हुन् ।

उनै शाक्यले सामाजिक सञ्जालमा भ्रम पार्ने गरी एउटा तस्बिर सार्वजनिक गरेपछि अहिले उनीमाथि नै प्रश्न बर्सिएको छ ।

शाक्यले सेयर गरेको तस्बिरमा भारतका हालका विदेशसचिव विनयमोहन क्वात्रा माइकमा बोल्दै गरेका देखिन्छन् । नजिकै सोफामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल बसिरहेका छन् । (शाक्यले क्रप गरेर शेयर गरेकाे तस्बिर उनकै ट्विटमा तल हेर्नुहाेस्)

 

स्मरण रहोस्, भारतीय विदेश सचिव हालै मात्र नेपाल भ्रमणमा आएका थिए । उनले त्यतिबेला प्रधानमन्त्री दाहालसहित उच्चस्तरीय नेतासँग भेटघाट गरेका थिए । त्यसको केही दिनपछि नेपालमा राष्ट्रपतिका लागि आठ दलीय गठबन्धन पनि बनेको थियो ।

क्वात्राको यही पछिल्लो भ्रमणलाई अहिले एमाले नेता आठ दलीय गठबन्धन बन्नुको कारक बताउँछन् । त्यसैलाई पुष्टि गर्ने प्रयासमा शाक्यले पनि उक्त तस्बिर राख्दै गठबन्धन फेरिनुको कारण बताउन खोजेकी हुन् ।

उनका अन्य प्रश्न यस्ता छन् :
भारतबाट आयातित विषादीयुक्त तरकारीमा क्वारेन्टाइन जाँच किन रोकिएछ ?
राष्ट्रपतिमा अरू होइन, कांग्रेस नै किन चाहिएछ ?

यी सबैका विरुद्ध जनता र राष्ट्रलाई बचाउन एमाले ढाल बनेर उभिँदा उनका विरूद्ध घेराबन्दी गर्न जनविरोधीहरू सबै एक भएर धुइरिएछ ।

तर, नेतृ शाक्यले आठ दलीय गठबन्धनलाई प्रश्न गर्न प्रयोग गरेको तस्बिर हालैको नभई एक वर्षअघिको पुरानो रहेको फेला परेको छ भने वास्तविक तस्बिरमा एमाले नेता सुवास नेम्वाङ पनि रहेको देखिन्छ । उनले सामाजिक सञ्जालमा भ्रम सृजना गर्न तस्बिरलाई क्रप गरेको पनि खुलेको छ । पूरा तस्बिरमा क्वात्राको बायाँतर्फ एमाले नेता नेम्वाङ सोफामा बसिरहेका देखिन्छन् ।

 

के हो त तस्बिरको वास्तविकता ?

वास्तविक तस्बिर।

यो तस्बिर क्वात्रा नेपालको राजदूत रहँदाको हो । उनी भारतीय सचिवमा नियुक्त भएपछि नेपालका लागि भारतीय राजदूतमा हालका राजदूत नवीन श्रीवास्तव चयन भएका थिए ।

क्वात्रालाई चैतमा बिदाइ गरिएको थियो । त्यतिबेला नेपालस्थित भारतीय राजदूतावासले रात्रिभोज आयोजना गरेको थियो । जहाँ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एस अध्यक्ष नेपाल, माओवादी अध्यक्ष दाहाल, एमालेका उपाध्यक्ष नेम्वाङ सहभागी भएका थिए ।
त्यसैले एमाले नेतृ शाक्यले जनमानसमा भ्रम सृजना गर्ने गरी तस्बिर क्रप गरेर सामाजिक सञ्जालमा राखेको पुष्टि हुन्छ । उनले यो समाचार प्रकाशित हुँदासम्म पनि ट्वीटरबाट उक्त पोस्ट हटाएकी छैनन् ।

उक्त पोस्टमा कमेन्ट गर्दै बाबाजी ट्वीटर ह्यान्डलबाट भनिएको छ, विद्युतीय कारोबार ऐन धारा ४७ आकर्षित हुने यस्तै कुरामा हो । लिडरसिपले घृणा, दुस्प्रचार, द्वेष, आक्रोश र भ्रम फैलाउने कि द्वन्द्व संवेदनशील भएर सत्य कुरो बोल्ने ? सुजिताजी जत्तिको मानिसले चाहेको वा खोजेको कस्तो समाज हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर