अतिकम विकसित मुलुकहरूलाई ६ करोड डलर सहयोग गर्ने कतारको घोषणा

कतारले अतिकम विकसित मुलुकहरू (एलडीसी) को विकास प्रक्रियालाई सहयोग गर्न ६ करोड अमेरिकी डलर दिने गर्ने घोषणा गरेको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारको राजधानी दोहामा जारी अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्रसंघीय सम्मेलनमा उक्त घोषणा गरेका हुन्।

‘कम विकसित देशहरूको विकास प्रक्रियालाई सहयोग गर्ने कतारको राज्यको दृढ प्रतिबद्धताको आधारमा म कुल ६० मिलियन अमेरिकी डलर आर्थिक योगदानको घोषणा गर्दछु, जसमध्ये १० मिलियन डलर अतिकम विकसित देशहरूका लागि दोहा कार्यक्रम कार्य गतिविधिहरू कार्यान्वयन गर्न सहयोग गर्न विनियोजन गरिनेछ र दोहा कार्यक्रमको अपेक्षित परिणामहरूलाई समर्थन गर्न र कम विकसित देशहरूमा लचिलोपन क्षमता निर्माण गर्न ५० मिलियन डलर विनियोजन गरिनेछ,’ अमिरले भने।

सो अवसरमा उनले दिगो विकासका लागि सन् २०३० को एजेण्डाअनुरूप अल्पविकसित मुलुकलाई आगामी दश वर्षसम्म विकासको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न एलडीसी सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अमिरले नयाँ अन्तर्राष्ट्रिय द्वन्द्व, विश्वव्यापी खाद्य सुरक्षा संकट, जलवायु परिवर्तनको घटना र कोभिड-१९ महामारीको दीर्घकालीन प्रभावका कारण विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको बताए।

‘कम विकसित देशहरूको अस्तित्वको अर्को दशकमा हाम्रा जनता र देशहरूको साझा भविष्यको लागि योजना बनाउँदा यी चुनौतीहरूलाई विचार गर्नु हाम्रो दायित्व हो,’ अमिरले भने, ‘यी देशहरूमा अझै पनि लाखौं मानिसहरू स्वास्थ्य सेवा र शिक्षाबाहेक गरिबीको बोझ, खाद्यान्नको अभावमा छन्।’

उनका अनुसार दोहा कार्यक्रमको आधार आगामी दशकमा अतिकम विकसित मुलुकका समस्या समाधान गर्न सहयोग गर्ने मार्गचित्र हो।

अमिरले खाद्य सुरक्षा चुनौती, जलवायु परिवर्तन, ऊर्जा संकट र ऋण संकटको सामना गर्नु साझा विश्वव्यापी दायित्व भएकाले समाधान खोज्नु सबै देशको साझा सामूहिक कार्य र दायित्व भएको उल्लेख गरे।

‘तर हामीले अहिले सामना गरिरहेका विश्वव्यापी चुनौतिहरू पार गर्न अति कम विकसित देशहरूलाई सहयोग गर्न धनी र विकसित देशहरूको नैतिक दायित्व रहेको छ,’ उनले भने।

अमिरले अल्पविकसित राष्ट्रहरूमा अन्तर्राष्ट्रिय संकटको नराम्रो असर परेको र ती देशहरूको विकासको बाटोमा बाधा पुर्‍याउने ऋण संकट यी देशहरूमा बलियो रूपमा देखिएको बताए। सो अवसरमा उनले उत्सर्जन घटाउने दायित्व पूरा गर्न विकसित र औद्योगिक राष्ट्रहरूलाई आह्वान गरे।

सम्मेलनमा नेपालको तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गरेका थिए। नेपालले यस वर्ष सम्मेलनको अध्यक्षतासमेत ग्रहण गरेका थियो। मन्त्री श्रेष्ठ नतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा भाग लिएर मंगलबार नै स्वदेश फिर्ता भइसकेको छ।

सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेशन ब्यूरो’को अध्यक्षको जिम्मेवारीसमेत दिएको छ। एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर