उपराष्ट्रपति निर्वाचन-२०७९

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिनेबारे निर्णय भइनसकेको बताएका छन्।

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जसपालाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय भइनसकेको बताएका हुन्। शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले अब छिट्टै नै गठबन्धनको बैठक बसेर यसरबारे औपचारिक निर्णय गर्ने बताए। उनले दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौं। दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन। त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’

पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको पनि उनले स्वीकार गरे। उनले नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनावमा गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर अघि बढेको बताए।

उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए।

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे। उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताए। उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे।

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने बताए। उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार विस्तार हुने बताएका हुन्। उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताए।

उपसभापति खड्काले द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर