‘माओवादी पृष्ठभूमिका नेतालाई मिलाएर त्यस्तै राजनीतिक धार बोके प्रचण्डलाई साथ दिन सकिँदैन’

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्न नहुने बताएका छन्। नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रूपमा काम नगर्ने स्पष्ट पारेका हुन्।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरूको जिम्मा राष्ट्रपतिले लिएर सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए। गठबन्धनका बीचमा भएका शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ छ। नेता रिजालले गठबन्धनका बीचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली कांग्रेस इमानदार हुने बताए।

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधिभित्र नबस्ने बताए। पौडेल आफ्नो पूर्वपार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने उनले स्पष्ट पारे। संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भूमिका नखेल्ने उनले विश्वास व्यक्त गरे।

नेता रिजालले प्रधानमन्त्री दाहालले माओवादी पुष्ठभूमिका नेताहरूलाई मिलाएर सोही अनुरूपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिए। उनले माओवादी केन्द्रका नेताहरूलाई जोखिम पार्न नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिबद्धता रहेको बताए।

माओवादी केन्द्र वैचारिक रूपमा अन्य माओवादी घटकहरूसँग एक भएको खण्डमा नेपाली कांग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरूसँग एकै ठाउँमा उभिने उनले बताए। उनले प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमतिअनुरूप हिँडेमा कांग्रेसबाट धोका नहुने स्पष्ट पारे।

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहलाई जनयुद्ध दिवसको रूपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए। दाहाल यसप्रकारको बाटोमा जान थाले उनलाई नेपाली कांग्रेसले बोक्न नसक्ने चेतावनी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर