नेपाल टेलिकममा चलखेल

बिलिङमा समस्या ल्याउने चिनियाँ कम्पनीसँग ३ अर्बको मर्मत सम्झौता

पटकपटक बिलिङ प्रणालीमा समस्या ल्याउने चिनियाँ कम्पनी एसियन इन्फोसँग नेपाल टेलिकमले पुनः मर्मत सम्झौता गरेको छ । टेलिकमले चार वर्षका लागि ३ अर्ब रुपैयाँ लागतमा मर्मतको जिम्मा उक्त कम्पनीलाई दिएको हो, जसमा १ वर्ष म्याद थपी निरन्तरतासमेत दिन सकिने व्यवस्था छ ।

एसियन इन्फोले नै टेलिकमसँग अहिले भएको बिलिङ प्रणाली जडान गरेको हो । त्यसपछि उक्त कम्पनीले नै निरन्तर प्रणालीको मर्मतसम्भारको जिम्मेवारी पाउँदै आएको छ । तर, कम्पनीले दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ जडान गरेको, त्यसका कारण टेलिकमको नेटवर्क पटकपटक डाउन हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै गरेको छानबिन प्रतिवेदनले पनि देखाएको छ ।
टेलिकम स्रोटका अनुसार बिलिङ प्रणालीमा समस्या ल्याई वर्षेनी ३ अर्बभन्दा धेरै रकम बिलिङमा नै नदेखिने गरेको पाइएको छ । जसका कारण आम्दानीमा असर पुगी टेलिकम नै धराशायी हुने अवस्थामा पुगेको छ ।

बिलिङ प्रणालीमा १ देखि १ दशमलव ५ प्रतिशतसम्म ‘भेरिएसन’ लाई सामान्य मानिए पनि हाल टेलिकममा १० प्रतिशतसम्म भेरिएसन आउने गरेको र यसमा टेलिकमकै उच्च अधिकारीहरु संलग्न रहेको स्रोतको भनाइ छ । टेलिकमले वार्षिक ३२ अर्ब रूपैयाँभन्दा धेरैको बिलिङ गर्ने गरेको छ । जसको १० प्रतिशतका अनुसार ३ अर्ब २० करोडभन्दा बढी रकम गायब हुने गरेको हो ।

केही साताअघि पनि नेपाल टेलिकमको पोस्टपेड सिमको हिसाब व्यवस्थापन गर्ने प्रणालीमा समस्या आएको छ । यो समस्याका कारण पोस्टपेड प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार भएको थियो । त्यसअघि पनि बिलिङ प्रणालीमा नै समस्याका कारण टेलिकमको नेटवर्क देशभर अवरुद्ध भएको थियो ।

यस्तो समस्या आएपछि सञ्चार मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले बिलिङ प्रणाली पुरानोमात्र नभइ स्ट्यान्डर्ड नहुँदा कम्पनीको व्यापारमा नोक्सानी भइरहेको निष्कर्ष निकाल्दै नेपाल टेलिकममा भएको बिलिङ प्रणाली परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो । तर, टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले सोही एसियन इन्फो कम्पनीसँग पाँच वर्षका लागि मर्मतको सम्झौता गरेका हुन् ।

एसियनको बदमासीका कारण टेलिकमलाई वार्षिक अर्बौं रकम घाटा भइरहेको भन्दै यसअघिका टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले आधुनिक र स्वचालित प्रणाली ल्याउन खरिद प्रक्रिया अघि बढाएका थिए । तर, उनी बाहिरिएपछि नियुक्ति भएका प्रबन्ध निर्देशक पौडेलले खरिद प्रक्रिया मात्र रोकेनन्, एसियनलाई मर्मतको जिम्मा दिए ।

एसिएन इन्फो बिलिङ प्रणाली विकास तथा सञ्चालन गर्ने कम्पनी नभए पनि एक दशकदेखि टेलिकमको बिलिङ प्रणाली कब्जा गरिरहेको छ । कम्पनीले बिलिङ प्रणाली जडान गर्ने बेलाको सेटिङका कारण मर्मतसम्भारको सम्झौता अरुसँग गर्न नमिल्ने जस्तो देखिएको टेलिकमका अधिकारी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर