उपराष्ट्रपति निर्वाचन-२०७९

प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिमा दिएको उम्मेदवारी

उपराष्ट्रपति चुनावका लागि उम्मेदवारी दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।

यादवले राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको संघर्षसँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेस जनविद्रोहलगायत लोकतन्त्र बहालीका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।

‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादप्रति निष्ठापूर्वक सधंै समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलंक एवं स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवं परिपक्व नेता माननीय रामसहायप्रसाद यादव उपराष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भए तापनि प्रतिबद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’

उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहा प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेश सभा सदस्यज्यूहरूसँग हार्दिक अपिल गर्दछु।’

उपराष्ट्रतपिकाे चुनाव चैत ३ गते हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *