एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एकपटक राष्ट्रपति, दुईपटकसम्म प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौं राष्ट्रपति पाइसकेको हुने बताए। उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने धारणा राखे ।

महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहरूको छनोट गर्न नहुने पनि बताए ।

महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर