उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताए ।

उनले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रलगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको पनि बताए ।

प्रवक्ता महतले सरकारमा जाने कुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताए । त्यस्तै आजको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरूलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर