श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगको उपचारार्थ डब्ल्यूएचओको सहयोगमा निर्मित उपचार सेवा केन्द्र सशस्त्रलाई हस्तान्तरण

विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ अस्पताल बलम्बुको परिसरभित्र निर्माण गरिएको ९२ शैय्याको गम्भीर तीव्र श्वासप्रश्वास संक्रमण (सारी) उपचार सेवा केन्द्र सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरिएको छ ।

नेपाल एपीएफ अस्पताल बलम्बुमा मंगलबार आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई विश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले हस्तान्तरण गरेको सो उपचार सेवा केन्द्र डा. पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका हुन् ।

गम्भीर प्रकृतिको श्वासप्रश्वास संक्रामक रोगहरूको उपचारमा स्वास्थ्य सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त उपचार सेवा केन्द्रमा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले कोभिड-१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रूपमा अनुकरणीय योगदान पुर्‍याएको स्मरण गर्दै मंगलबार हस्तान्तरण भएको फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रूपमा सेवा प्रदान गर्न सफल हुने बताए ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुन लागेको गम्भीर तीव्र श्वासप्रश्वास संक्रमण (सारी) उपचार सेवा केन्द्रले गम्भीर प्रकृतिको श्वासप्रश्वास संक्रामक रोगहरूको उपचारमा आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरू पूर्वतयारी अवस्थामा रहनुका साथै सामान्य अवस्थामा समेत केन्द्रले दक्ष उपचार सेवा प्रदान गर्ने बताइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक प्रकोप एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत: श्वासप्रश्वास संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतिका संरचना तथा पूर्वाधारहरूले थप टेवा पुग्ने बताए ।

उनले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वासजस्तो संवेदशील विषयमा आवश्यकतालाई महसुस गरी यसको महत्त्व, अपरिहार्यता र भावी चुनौतीको गहन अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रूपमा सशस्त्र प्रहरी बल, नेपाललाई उपचार सेवा केन्द्र हस्तान्तरण गरेकोमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गरे ।

उनले यस उपचार सेवा केन्द्रद्वारा सेवा प्रदान गर्ने कार्यमा भविष्यमा समेत विश्व स्वास्थ्य संगठन, मन्त्रालय र अन्य सरोकारवाला निकायको निरन्तर सहयोग र समन्वय रहिरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा. राजेश शाम्भाजी राओ पाण्डव, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर