मेला-महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउँछ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला-महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताए ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरूलाई उपभोक्ताहरूसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमानसमेत गराउँछ । ’

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्त्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले कोरोना भाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु बिस्तारै सहज हुँदै गएकोसमेत बताए । ‘कोरोना भाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरू देखिएका थिए । बैंकिङ क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा सञ्चितिमा पनि कमी हुन गयो । तर, अहिले रेमिट्यान्स उत्साहजनक रूपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ क्षेत्रमा तरलताको पनि क्रमश: सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,’ उनले भने ।

व्यवसायीहरूमा धेरै नै नैराश्यता देखिएको बताउँदै उनले व्यवसायीहरूलाई निराश नहुनसमेत आग्रह गरे । ‘व्यवसायीहरू भनेको जस्तोसुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो । त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरू संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन । संयमित भएरै यसबाट पार पाउने हो,’ उनले भने । उनले महासंघको आगामी चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरूका समस्याको समाधान गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर